जेनजी आन्दोलनका सहिद र घाइतेका लागि राहत रकम भौतिक पूर्वाधार कोषमा मात्र जम्मा गर्न अर्थ मन्त्रालयको आग्रह


काठमाडौँ ।अर्थ मन्त्रालयले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रभावित सहिद परिवार र घाइते व्यक्तिहरूको राहत तथा उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकमको पारदर्शी व्यवस्थापनमा ध्यानाकर्षण गराएको छ।

मन्त्रालयले जारी गरेको पत्रमा केही गैर सरकारी संघसंस्थाहरूले समानान्तर र अपारदर्शी ढङ्गले रकम प्रयोग गरिरहेको जानकारी प्राप्त भएकोले सरकारले यस विषयमा गम्भीर ध्यानाकर्षण गरेको हो।

अर्थ मन्त्रालयले राहत, पुनर्निर्माण र आर्थिक पुनरूत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरिएको छ र त्यसैमा जम्मा गरिएका रकम मात्र प्रयोग गरिनुपर्ने जनाएको छ ।

“यस कोषमा जम्मा हुने रकम सहिद र घाइते परिवारका प्रतिनिधिहरूको सहभागितामा पारदर्शी र जवाफदेही ढङ्गले खर्च गरिनेछ,”पत्रमा भनिएको छ।

मन्त्रालयले स्वदेश तथा विदेशमा राहतका लागि सङ्कलित रकम यस कोषको आधिकारिक खातामा मात्र जम्मा गर्न अनुरोध गरेको छ।

योगदान रकम जम्मा गर्ने बैंकको विवरण यसप्रकार छ: खाताको नाम “भौतिक पूर्वाधार पुनर्निर्माण कोष”, राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौं, खाता नं. 1960100102070004, SWIFT CODE: RBBANPKA।

अर्थ मन्त्रालयले योगदानकर्ताहरूलाई सुरक्षित, पारदर्शी र प्रभावकारी तरिकाले राहत रकमको प्रयोग सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेको छ।