काँग्रेस उपसभापति गुरुङको प्रस्ताव: पार्टीमा युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था गरौँ


काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरुको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

शनिवार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् । उपसभापति गुरुङले पार्टीमा युवाहरुलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरुलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि बताएका हुन् । 

“यो सकारात्मक छ । किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरुलाई निश्चित कोटा छुट्टयाइएको छैन विधानमा । त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ,” उपसभापति गुरुङले भने, “युवा पंक्तिवाई इग्नोर गर्नु हुँदैन । युवाहरुको सहभागिताको लागि केन्द्रिय समिति सम्म तलदेखिमाथिसम्म निश्चित कोटानै छुट्टयाउनु पर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्टयाइएको छ । त्यसै अनुसार युवाहरुको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।”

काँग्रेसका कार्यकर्ताहरु युवाहरुको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरुको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो ।