प्रभु स्टील्सको आइपिओ आउने,क्रेडिट रेटिङ्ग लागि सम्झौता


काठमाडौँ । प्रभु ग्रुप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टिल्स एण्ड हाईड्रो ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड र केयर रेटिङ्ग नेपालबिच आज क्रेडिट रेटिङ्ग सम्झौता भएको छ ।

कम्पनीले आगामी पुस १९ मा हुने वार्षिक साधारणसभाबाट आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेसँगै क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा प्रभु स्टील्स एन्ड हाईड्रो ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिताराम धिमाल र केयर रेटिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब प्रभु स्टिल्सले आफ्नो क्रेडिट रेटिङ्ग गरेर धितोपत्र बोर्डमा सार्वजनिक सेयर निष्कासनको लागि आवेदन दिनेछ ।

प्रभु स्टील्स समेतको लगानीमा २५.४ मेगावाटको सुपर आँखुखोला र ३७ मे.वा.को माथिल्लो म्याग्दी गरि दुईवटा हाईड्रो पावर परियोजना निर्माण भइरहेका छन् ।

त्यस्तै कम्पनीले सोलुखुम्बुमा दोभान खोला जलविद्युत परियोजना ४.२ मेगावाट र मध्य इन्द्रावती खोला ६.६५ मे.वा. जलविद्युत परियोजना सिन्धुपाल्चोकमा निर्माण गर्दैछ ।

कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत् विकास लिमिटेडले विभिन्न जिल्लाहरूमा ३ वटा क्रमशः, इन्द्रावती खोला ९.३२५ मे.वा. जलविद्युत् परियोजना, राहगाढ ९.६२ मे.वा. जलविद्युत परियोजना, लिदिन खोला ४.१२५ मे.वा. जलविद्युत परियोजना निर्माण गर्न कार्य प्रारम्भ गरेको जनाएको छ ।

प्रभु स्टील्स एन्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको ठुलो लगानी रहेको सिद्धार्थ केबलकार गत भाद्र १९, २०८१ देखि बुटवलमा सञ्चालनमा छ ।

यस कम्पनीले माथिल्लो म्याग्दि जलविद्युत आयोजनामा ३७ मे.वा.मा ४० प्रतिशत सेयर लगानी गरेको छ ।

यो आयोजना ४५ प्रतिशत सम्पन्न भै सकेको छ । कम्पनीले आइपिओबाट सङ्कलन हुने रकमले सहायक कम्पनीका जलविद्युत् आयोजनामा लगानी गर्ने र निर्माणाधिन परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य रहेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिताराम धिमालले जानकारी दिए ।

आइपिओ प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।