काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई बन्द होइन, व्यवस्थित र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याए ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरुसँगको छलफलमा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्नुपर्ने सुझाव दिए । उनका अनुसार सरकारले जनताको आवाज सुन्ने, देखिने र महसुस हुने प्रणालीका लागि सञ्चार मन्त्रालय सक्रिय रूपमा अघि बढिरहेको छ।
मन्त्री खरेलले भने, “सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुने छैन। कुनै पनि सञ्चारमाध्यम बन्द नगरिने कुरा स्पष्ट पार्न चाहन्छु। तर, सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक छ। सञ्चारमन्त्रीको रूपमा मेरो प्राथमिकता पनि यही हो।”
उनले अनलाइन पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न मन्त्रालयले पहल गर्ने प्रतिवद्धता पनि दिए। साथै, डिजिटल मिडियासँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउँदै उनले अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रिया सूचना विभागमार्फत हुने व्यवस्थालाई आफूले पहिलो क्याबिनेट बैठकबाटै कार्यान्वयनमा ल्याएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्