वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित


काठमाडाैँ । वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको छ । बिहीबार बिहानैदेखि भएकाे वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो ।

काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि नै अविरल वर्षा जारी छ । जसकारण आम नागरिकका दैनिक कामहरु प्रभावित भएका हुन् । कार्यालय जानका लागि र दैनिक कामहरु गर्नका लागि वर्षाका कारण समस्या सिर्जना भएको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहने छ ।

कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी भू–भागका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, वागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेको छ। साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।