काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूलाई वार्षिक प्रतिवेदन बुझाउन आग्रह, दुई वर्षदेखि निष्क्रिय रहेकालाई खारेजीको चेतावनी


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूसँग वार्षिक विवरण र लेखा प्रतिवेदन बुझाउन आग्रह गरेको छ।

महानगरको सहकारी विभागले कार्तिक १३ गते सूचना जारी गर्दै सहकारी संस्थाहरूलाई कानुनी व्यवस्था अनुसार अनिवार्य रूपमा साधारण सभा सम्पन्न गरी त्यसका निर्णय र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

सूचनामा उल्लेख अनुसार काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) र १०४ बमोजिम प्रत्येक सहकारी संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने र सभा सम्पन्न भएको १५ दिनभित्र महानगरमा वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। तर हालसम्म धेरै सहकारी संस्थाहरूले आर्थिक वर्ष २०८१/०८२ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन महानगरपालिकामा पेश नगरेकाले तत्काल त्यसका विवरण बुझाउन महानगरले आग्रह गरेको छ।

त्यसैगरी, ऐनको दफा ६६(३) बमोजिम लगातार दुई आर्थिक वर्षसम्म साधारण सभा नगरी प्रतिवेदन नबुझाउने सहकारी संस्थाहरूलाई निष्क्रिय मानेर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा दिइएको छ। यस्ता संस्थाहरूको विवरण सार्वजनिक गर्ने र आवश्यक परे खारेजीको प्रक्रिया सुरु गर्ने महानगरको तयारी रहेको सूचनामा उल्लेख गरिएको छ।

महानगरले सहकारी ऐन, २०७४ बमोजिम तोकिएका कार्यविधि र सूचकहरूका आधारमा सहकारी संस्थाहरूको अनुगमन र निरीक्षण गर्ने कार्यलाई पनि तीव्र पार्ने जनाएको छ। यस क्रममा अनुगमन तथा निरीक्षण टोलीलाई आवश्यक सहयोग पुर्‍याउन सबै सहकारी संस्थाहरूलाई महानगरले अनुरोध गरेको छ।

काठमाडौँ महानगरपालिकाले सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता र नियमन सुदृढ बनाउने उद्देश्यसहित यो सूचना सार्वजनिक गरेको जनाएको छ।