काठमाडौँ महानगरद्वारा सहकारी संस्थालाई प्रवर्धन कोषमा अनिवार्य रूपमा रकम जम्मा गर्न निर्देशन


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सहकारी संस्थाहरूलाई सहकारी प्रवर्धन कोषमा तोकिएको रकम अनिवार्य रूपमा जम्मा गर्न सूचना जारी गरेको छ।

महानगरपालिकाले आज प्रकाशित सूचनामा उल्लेख गरेअनुसार काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ४९ उपदफा (१) तथा सहकारी नियमावली, २०८० को नियम १८ उपनियम (१) का प्रावधानअनुसार प्रत्येक सहकारी संस्थाले आफ्नो वार्षिक कारोबारको शून्य दशमलब पाँच प्रतिशत (०.५%) बराबरको रकम ‘महानगर सहकारी प्रवर्धन कोष’ मा प्रत्येक वर्ष अनिवार्य रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ।

तर, हाल केही सहकारी संस्थाहरूले महानगरको कार्यालयमा दाखिला गर्नुपर्ने उक्त कोष रकम अन्य निकाय वा कार्यालयका खातामा जम्मा गरेको पाइएकाले, महानगरपालिकाले यस विषयमा विशेष ध्यानाकर्षण गराउँदै ऐन र नियमावलीअनुसारको रकम मात्र तोकिएको खातामा जम्मा गर्न निर्देशन दिएको छ।

सहकारी संस्थाहरूले उक्त रकम एनआईसी एशिया बैंक लिमिटेडको खाता नं. ००१४१५०१०७७२६००२ मा जम्मा गर्नुपर्ने स्पष्ट गरिएको छ।

महानगरपालिकाले सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि तोकिएको कोषमा रकम संकलनलाई आवश्यक प्रक्रिया अन्तर्गत लैजान र सहकारी क्षेत्रको पारदर्शिता तथा उत्तरदायित्व सुनिश्चित गर्न सबै संस्थालाई यस सूचना पालना गर्न आग्रह गरेको छ।