काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन्।
मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताए ।
शर्माले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उनकाे भनाइ थियाे ।
“झन भद्रगोल, विधिविहीन बनाएर सिमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगर जो एकताको नाटक गरिएको छ,” शर्माले भने, “जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित जे एकता भईरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।”




प्रतिक्रिया दिनुहोस्