कर्मचारी अभाव हुँदा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले द्रुत गतिमा काम गर्न सकेन : अध्यक्ष शर्मा


काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले कर्मचारी र स्रोतसाधनको अभावका कारण प्राधिकरणले द्रुत गतिमा काम अघि बढाउन नसकेको बताएका छन्।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले बुधवार आयोजना गरेको सहकारी सुधार कार्ययोजना मस्यौदा छलफल कार्यक्रममा उनले ऐन जारी गर्नु मात्रै पर्याप्त नभई त्यससँग सम्बन्धित नियमावली, संरचना र जनशक्ति व्यवस्थापन आवश्यक हुने बताए।

उनका अनुसार, सहकारीहरूको समस्या स्थानीय तहदेखि मन्त्रालयसम्मबाट प्राधिकरणमा पठाइने भएकाले कामको दबाब बढेको छ। “पालिकादेखि मन्त्रालयसम्मका सबै समस्या प्राधिकरणमै आउँछन्, तर जनशक्ति र स्रोत अभावका कारण गतिमा अघि बढ्न सकेका छैनौँ,” शर्माले भने।

उनले सहकारी क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्न र नियमनसँगै प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।