काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले युरो-३ मापदण्डका सवारी साधन आयात खुल्लाका लागि निर्णय गराएका छन् ।
अर्थमन्त्री खनालले नेपाल सवारी मापदण्ड, २०८२ विपरीत केही सीमित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी ३५ दिनको समय राखेर अर्थमन्त्री खनालले युरो-३ मापदण्डको गाडी भित्राउने निर्णय राजपत्रमा प्रकाशित गराएका हुन् ।
नेपाल सवारी मापदण्ड, २०८२ सवारी साधनको हकमा २०८२ मङ्सिर १५ गतेसम्म पूर्ववत् मापदण्ड अनुसार आयात गर्न सकिने जनाइएको छ ।
यो व्यवस्था अनुसार व्यवसायीहरूले युरो ३ गाडीहरू आयात गर्न पाउने भएका हुन् । भारतमा समेत बिक्री बन्द भएको युरो ३ का ‘सञ्चालन स्तर गुमाइसकेका’ गाडी नेपालमा ‘डम्प’ गर्न बाटो खोलिएको छ ।
सरकारले २०८२ असार ९ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल सवारी मापदण्ड, २०८२ लागू गरेको थियो । सो मापदण्ड लागू भएसँगै चार पाङ्ग्रे सावरी साधनमा युरो ६ र दुई पाङ्ग्रे सवारी साधनमा युरो ५ लागू भएको थियो ।
सो मापदण्ड लागू भइसकेपछि सरकारले युरो ६ गाडीहरू आयात गर्नुपर्ने भए पनि जेनजी विद्रोहलगत्तै चुनावी अन्तरिम सरकारले सीमित समय राखेर फेरि युरो ३ गाडीहरू आयात गर्ने बाटो खुलाएको हो ।
२०८२ असोज १० गते अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै पुरानै मापदण्ड अनुसार सवारी साधन आयात गर्ने बाटो खुलाएको हो ।
राजपत्रमा ‘नेपाल सवारी प्रदुषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा संवत् २०८२ साल मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने’ उल्लेख छ ।
प्रोफार्मा इनभ्वाइस भनेको बिक्रीलाई अन्तिम रूप दिनु अघि पठाइने प्रारम्भिक, गैर–बाध्यकारी कागजात हो । यसमा खरिदकर्तालाई आगामी लेनदेनको अनुमानित लागत र विवरणहरू उल्लेख हुन्छ ।
यसले सामान, परिमाण, मूल्य र ढुवानी लागतहरूको विषयको बारेमा जानकारी हुन्छ ।
जानकारहरूका अनुसार प्रोफर्मा इन्भ्वाइसका कारण गाडी आयात गर्नुैपर्छ भन्ने बाध्यता छैन ।
अर्थमन्त्री खनालले भने युरो ३ गाडीको आयात खुलाएर केही व्यापारिक घरानाहरूलाई सुविधा दिएको खुलेको छ । सरकारले युरो ६ लागू गर्दा नयाँ आयात हुने सवारीको हकमा मात्र लागू हुने बताएको थियो ।
यो मापदण्ड लागू हुनुभन्दा पहिले प्रतीतपत्र वा बैंकको माध्यमबाट गरिसकिएको भुक्तानीबमोजिम आयात हुने सवारी साधनको हकमा लागु नहुने बताइएको थियो ।
सरकारले भने एलसी नखोलेका तर नेपाल सवारी प्रदुषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले ‘प्रोफर्मा इन्भ्वाइस’ जारी भइसकेकाका लागि भन्दै फेरी युरो ३ का गाडी र पाटपुर्जा आयात गर्न सकिने बाटो खुलाएको हो ।
आयात/निर्यात व्यवस्था, भन्सार शुल्क, र अन्तिम बिक्री विवरणहरूलाई सम्झौताको रूपमा प्रयोग गरिन्छ । प्रोफर्मा इन्भ्वाइस यो मानक इनभ्वाइस होइन भने भुक्तानीको लागि कानुनी अनुरोध पनि होइन ।
यो लेखा उद्देश्यका लागि प्रयोग गरिँदैन जसको कारण भुक्तानी गर्न यो बाध्यकारी पनि हुँदैन । यसले भुक्तानी गर्ने बाध्यता नभएपनि सरकारले ३५ दिनको समय दिएर आयातको बाटो खुलाएको हो ।
अर्थमन्त्री खनाल मोरीससमा दर्ता भएको डोल्मा इम्प्याक्ट फन्डलाई पुँजीगत लाभकर छुटकाे निर्णय गराएको विषयमा विवादतमा तानिएका छन् ।




प्रतिक्रिया दिनुहोस्