धितोपत्र बोर्डका कर्मचारीको समस्या समाधान गर्न अध्ययन पुनरावलोकन कमिटी गठनको सहमति, कर्मचारी काममा फर्किए


काठमाडौँ । गत असोज ७ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीको समस्या समाधानतर्फ अघि बढेको छ ।

आन्दोलनरत कर्मचारीसँगको छलफलमा अर्थ मन्त्रालय माग सम्बोधन गर्न सकारात्मक बनेपछि कर्मचारीहरू आज देखि दैनिक काममा फर्किएका छन्

आज बिहान अर्थ मन्त्रालय र कर्मचारी प्रतिनिधिबिच भएको छलफलले समस्या समाधान गर्ने सकारात्मक बाटो देखाएको धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए ।

“अर्थमन्त्री रामेश्वर खानालले पनि हाम्रो माग पूरा गर्न सकारात्मक देखिनुभएको छ,” ढुंगानाले भने “अहिलेको मोडालिटी मन्त्रालयले निर्णय फिर्ता नलिने तर पुनरावलोकन (रिभ्यू) गरेर सुधार गर्ने सहमति जनाएको छ ।,”

कर्मचारीहरू सकारात्मक बनेपछि आज बेलुकी बोर्ड सञ्चालक समितिको बैठक बस्दैछ । अध्यक्ष सन्तोषनारायण श्रेष्ठले छलफलहरू सकारात्मक अगाडि बढेको र एउटा निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । उनले भने,“ सबै कुरा सकारात्मक छ । बेलुकी बोर्ड सञ्चालक समिति बैठक बस्छ र यसमा थप निर्णय गछौँ ।”

अर्थ मन्त्रालयले गत असोज २ गते पत्र पठाउँदै नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि ( २०७१ ) र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि ( २०७५) खारेजीको जानकारी गराएको थियो ।
कार्यविधि खारेजीसँगै बिगतमा लिएको रकमसमेत कर्मचारीको तर्फबाट असुलउपर गर्न भनिएको थियो । यसपछि कर्मचारी आन्दोलित भएका थिए ।

पनरावलोकन गर्न कमिटी गठन
अर्थ मन्त्रालय र बोर्ड दुवै पक्षले संयुक्त रूपमा एउटा पुनरावलोकन कमिटी गठन गर्ने सहमति गरेका छन् । उक्त कमिटीले बोर्डले अर्थ मन्त्रालयले पठाएको विवादस्पद पत्र र त्यसको पृष्ठभूमि अध्ययन गरी मन्त्रालयमा पुनः प्रतिवेदन पठाउने ढ्ुंगानाले बताए ।

“मन्त्रालयका अधिकारीहरूले पनि बुझिसक्नुभएको छ कि पत्र पठाउने प्रक्रिया सही थिएन,” ढुंगानाले भने , “त्यसैले अब त्यसको आधारमा नियमावली संशोधन गरेर समस्या समाधान गर्ने सहमति भएको छ ।”

आन्दोलनको मोडालिटी परिवर्तन गर्दै काममा फर्किए
सहमतिपछि अब बोर्डमा दैनिक कामकाज सुरु भएको छ । कर्मचारी ढुंगानाले भने, “हामीले आन्दोलन पूर्ण रूपमा स्थगन गरेका छैनौँ तर मोडालिटी परिवर्तन गरेका छौँ । बिहानको एक घण्टाको धर्ना कार्यक्रम जारी रहनेछ, बाँकी काममा हामी फर्किन्छौँ ”

उनका अनुसार आन्दोलनरत कर्मचारीहरू कार्यालयमा फर्किएर पेन डाउन फिर्ता लिने निर्णय गरेका छन्, जसले बोर्डको नियमित कार्य सञ्चालन सहज बनाउनेछ ।

ढुंगानाले भने, ”आज विहान अर्थमन्त्रालयसँग सहमति भएसँगै बोर्डका लगभग सबै कर्मचारीहरु नियमित काममा फर्किनुभएकाे छ ।”

मन्त्रालयले माग पूरा गर्ने तयारी
बैठकमा अर्थ मन्त्रीले स्वयले पुनरावलोकन कमिटी बनाएर समस्या समाधान गर्ने र कर्मचारीको सेवा सुविधा तथा बोर्डको स्वायत्तता प्रभावित नहुने आश्वासन दिएका छन । “मन्त्रीज्यूले स्पष्ट भन्नुभयो—तपाईंहरूको सेवासुविधा काटिँदैन, बोर्डको स्वायत्तता जोगाइनेछ, र समस्या रिभ्यूमार्फत समाधान गरिन्छ,” ढुंगानाले भने ।

एक हप्ता ‘पर्ख र हेर’
कर्मचारीहरूले अहिले एक हप्तासम्म मन्त्रालयको प्रतिबद्धता र कार्यान्वयन पर्खिने भएका छन् । “यदि कात्तिक मसान्तभित्र समाधान भएन भने हामी फेरि आन्दोलनलाई निरन्तरता दिनेछाँैं,” उनले स्पष्ट पारे ।

हालको अवस्थाले धितोपत्र बोर्ड र अर्थ मन्त्रालयबिचको विश्वास पुनःस्थापित हुने संकेत देखिएको छ । “कर्मचारीका अनुसार, अहिलेको सहमति स्थायी समाधानको दिशामा पहिलो कदम हो, “अब यो सङ्कटबाट बाहिर निस्कने बाटो खुलेको छ,” ढुंगानाले भने ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड करिब ५० दिनदेखि कर्मचारी आन्दोलनका कारण प्रभावकारी रूपमा काम गर्न नसक्दा पूँजी बजारका सम्पूर्ण प्रक्रिया ठप्पजस्तै बनेका छन् ।

बोर्डका नियमित कार्यहरू आईपीओ निष्कासन अनुमति, हकप्रद सेयर स्वीकृति, म्युचुअल फन्ड नवीकरण, ब्रोकरेज अनुमति तथा नियामक निरीक्षण लगायत सबै काम रोकिएका छन् ।

आन्दोलनका कारण लगानीकर्ता, इश्यू म्यानेजर र वित्तीय संस्थाहरूसमेत प्रभावित बनेका छन् ।