आइपिओ जारी गर्ने तयारीमा होटल इच्छा, बोलायो साधारण सभा


काठमाडौँ । बाराको सिमरास्थित पाँचतारे होटल इच्छा लिमिटेडले सर्वसाधारणका लागि शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी थालेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न माघ १५ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । साधारण सभा बारामै रहेको होटल इच्छाको सभाहलमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, यस सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने निर्णय गरिनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिने र दुई जना सञ्चालकको निर्वाचनसमेत हुने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनको तयारीसँगै होटल इच्छाले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

बाराको प्रमुख लगानी परियोजनामध्ये पर्ने होटल इच्छाले पर्यटन र आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने दाबी गर्दै आएको छ । आईपीओपछि कम्पनीले पूँजी विस्तारसहित नयाँ परियोजना सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ ।