काठमाडाैँ । लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवलमा अब अन्तर्राष्ट्रियस्तरको आतिथ्य सुविधा सुरू भएको छ। साढे ३ अर्ब रुपैयाँ लगानीमा निर्मित ‘होटल ह्यात प्लेस बुटवल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकछेउमा बनेको यो होटल लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल हो ।
अन्तर्राष्ट्रिय हायात समूहले यसको व्यवस्थापन गर्ने भएको छ। होटल सफ्रोन सिके प्रालि को लगानीमा निर्माण गरिएको हो, जसले हायातसँग दीर्घकालीन सम्झौता गर्दै सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाएको जनाएको छ।
२५ कट्ठा जग्गामा फैलिएको होटलमा रूपन्देहीका चर्चित उद्योगीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी छ।
सञ्चालक चुन्नुप्रसाद पौडेलका अनुसार होटलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको छ, जसको ६५ प्रतिशत भाग बैंक ऋण र बाँकी ३५ प्रतिशत स्वलगानी हो ।
“होटल स्थापनामा कुनै राजनीतिक व्यक्ति वा नेताको लगानी छैन,” पौडेलले भने, “हामीले पूर्ण व्यावसायिक दृष्टिकोणले यो आयोजना अघि बढाएका हौँ। पूर्ण क्षमतामा सञ्चालन भएपछि करिब ३५० जनालाई रोजगारी मिल्नेछ।”
अत्याधुनिक संरचनामा बनेको होटलमा जमिनमुनि दुई तले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ। होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ।
लगभग ५,७४६ वर्गमिटर क्षेत्रमा फैलिएको हायत प्लेसमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल लगायतका विलासी सुविधाहरू समावेश गरिएको छ।
भौगोलिक दृष्टिले पनि होटल रणनीतिक स्थानमा छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सीमा नाकाबाट २८ किलोमिटर दूरीमा रहेको यो होटल क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण ठहरिने अपेक्षा गरिएको छ।
होटल हायत प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगार दिनेछ, जसमा स्थानीयलाई प्राथमिकता दिइने जनाएको छ। “कुकदेखि म्यानेजरसम्मका पदमा स्थानीयलाई अवसर दिने हाम्रो प्रयास हुनेछ,” पौडेलले बताए।
होटलको नजिकै रहेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र का कारण व्यापारिक कार्यक्रम, सम्मेलन र पर्यटकका लागि बुटवल आकर्षक गन्तव्य बन्ने सम्भावना बढेको छ।
हायत प्लेस बुटवल ले प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गरेको बताउँदै व्यवसायीहरूले यो परियोजना लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय नक्सामा स्थापित गर्ने ऐतिहासिक कदम भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्