काठमाडौँ । साहस उर्जा लिमिटेडले सेयरधनीहरूलाई आकर्षक लाभांशसहित हकप्रद सेयर दिने निर्णय गरेको छ।
कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१.८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यसबाहेक, कम्पनीले लगानीकर्ताका लागि थप अवसर स्वरूप हकप्रद सेयर जारी गर्ने तयारीसमेत गरेको छ। बैठकले अघिल्लो वर्षको साधारण सभाले पारित गरेको निर्णयमा संशोधन गर्दै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको आधारमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
यस निर्णयले कम्पनीको पुँजी संरचना थप सुदृढ हुने र लगानीकर्ताको लगानी मूल्यमा सकारात्मक प्रभाव पर्ने कम्पनीले जनाएको छ। हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दोब्बर हुने अपेक्षा गरिएको छ।
साहस उर्जा लिमिटेड जलविद्युत क्षेत्रको अग्रणी कम्पनीमध्ये एक हो, जसले निरन्तर रुपमा परियोजना विस्तार र उत्पादन वृद्धिमा ध्यान केन्द्रित गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्