काठमाडाैँ । राजधानीको पाँचतारे होटल हायात रिजेन्सी काठमाडौँले भाद्र २४ गतेको घटनापछि होटल पूर्णरूपमा बन्द रहेको र मर्मत सम्भार नहुँदासम्म सञ्चालन सम्भव नभएको कारण देखाउँदै श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३ जना) श्रमिक कटौती गर्ने निर्णय गरेको छ।
होटलका महाप्रबन्धक आशीष कुमार द्वारा हस्ताक्षरित उक्त सूचना कात्तिक २२ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको हो।”मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा होटल परिसरमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेपछि होटलमा ठूलो क्षति पुगेको छ,” होटलले जारी गरेको सूचनामा भनिएकाे छ । सोही दिनदेखि होटल पूर्णरूपमा बन्द रहेको र आगलागीका कारण भवनहरू समेत मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेको उल्लेख गरिएको छ।
घटनाका क्रममा होटलमा बसोबास गरिरहेका एक विदेशी पाहुनाले आगलागीका कारण ज्यान जोगाउनका लागि चौथो तलाबाट हामफाल्दा घाइते भई उपचारका क्रममा निधन भएको पनि सूचनामा जनाइएको छ। त्यस्तै, अन्य विदेशी पाहुनाहरूका लगेज र सामानहरू समेत लुटपाट र आगलागीबाट नष्ट भएको र यस घटनाले हायात रिजेन्सीको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पारेको होटलले जनाएको छ।
होटलले कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द रहँदा होटलले ठूलो आर्थिक क्षति व्यहोरेको र हालमात्रै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भाद्र २४ को घटनाले पुनः गम्भीर आर्थिक संकट सिर्जना गरेको जनाएकाे छ। होटल मर्मत सम्भारका लागि करोडौँ रुपैयाँ लाग्ने अनुमान गरिएको र मर्मत अवधिभर होटलमा कुनै आम्दानी नहुने हुँदा थप ठूलो चुनौती उत्पन्न भएको जनाइएको छ।
“यस परिस्थितिमा श्रमिक व्यवस्थापनका विकल्पहरूबारे प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल गर्दा पनि कुनै निष्कर्षमा पुग्न सकिएन। मर्मत कार्य आरम्भ भइसकेको र त्यसका लागि आर्थिक स्रोत जुटाउनुपर्ने भएकाले संचालनमा नरहेको होटलमा श्रमिकलाई काममा लगाउन असम्भव भएको छ,”सूचनामा भनिएको छ ।
भाद्र २४ को घटनाले लामो समयदेखि आन्तरिक श्रमिक विवादको सामना गर्दै आएको हायात रिजेन्सीलाई नयाँ संकटमा पारेको छ। होटलले पूर्ण मर्मत सम्पन्न नभएसम्म पुनः सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट रूपमा जनाएको छ, जसका कारण नेपालको आतिथ्य उद्योगमा एउटा ठुलो नोक्सानी र श्रमिक वर्गमा व्यापक प्रभाव पर्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्