एनआरएन इन्फ्रास्ट्रक्चर लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी सञ्चालक समितिको बैठकले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ। सभा काठमाडौं स्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।