जेनजीका माग पूरा नभइकन निर्वाचन हुँदैनः सुदन गुरुङ


काठमाडाैँ । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरू पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्। 

बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्ताे बताएका हुन्।

उनले केही बाहेकका सबै जेनजीहरू एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताए । जेनजीहरूका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए ।

जेनजीका हरेक वार्ताहरूमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ । 

आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ ।