काठमाडाैँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारीबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगबिच आज महत्वपूर्ण छलफल भएको छ।
आयोगको पहलमा आयोजित उक्त छलफलमा गृहमन्त्री अर्यालले निर्वाचनको तयारी सुदृढ बनाउन नेपाल सरकारबाट आवश्यक सबै स्रोत–साधन उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। उनले शान्ति–सुरक्षाको समुचित व्यवस्था गर्दै निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।
गृहमन्त्रीले युवाको सहभागिता बढाउन हालसालै अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन गरी जग्गाधनीले समेत नाम दर्ताको अवधि थप गर्न सक्ने व्यवस्था गरिएको उल्लेख गरे। साथै, मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबिच अन्तरसमन्वय कायम गर्ने प्रक्रियामा सरकार सक्रिय रहेको जानकारी दिए।
निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले योजनाबद्ध रूपमा तयारी गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि निर्वाचन व्यवस्थापन सुधार, आवश्यक समन्वय तथा सहजीकरणमा सरकार सदैव साथ रहने आश्वासन दिए।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन मिति घोषणा भएयता आयोगले योजनाबद्ध रूपमा पूर्वतयारी अघि बढाइरहेको बताए। राजनीतिक दल, सरकारी निकाय र सरोकारवालासँग निरन्तर परामर्श तथा समन्वय गर्दै सेवाग्राहीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्यमा आयोग केन्द्रित रहेको उनले बताए।
उनले निर्वाचन पूर्वतयारीमा नेपाल सरकारबाट प्राप्त समर्थनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वातावरण निर्माण, स्रोतसाधन व्यवस्था, सुरक्षा तयारी तथा आवश्यक समन्वयमा सरकारको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन र जनशक्ति व्यवस्थापनबारे सुझाव राखिन्। त्यस्तै, आयुक्त सगुन शम्शेर जबरा रावलले निर्वाचन सुरक्षा तथा सामग्री व्यवस्थापनका विषयमा आफ्नो धारणा प्रस्तुत गरे।
कार्यक्रमको समापन गर्दै सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आगामी निर्वाचनलाई सफल, सहज र विश्वासयोग्य बनाउन निरन्तर तयारीरत रहेको बताए।



प्रतिक्रिया दिनुहोस्