काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर १, च्याम्राङबेसीस्थित मदानी डेरी प्रा।लि।को तेस्रो वार्षिक साधारण सभा आज विविध कार्यक्रमसहित सम्पन्न भएको छ । सभामा सहभागी अधिकांश वक्ताहरूले किसानको निरन्तर परिश्रम, स्थानीय तहको सहकार्य र व्यवस्थापनको सक्रिय नेतृत्वका कारण मदानी डेरीले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा मदानी डेरीका सञ्चालक राजाराम लुइँटेलले डेरीले पछिल्लो समय हासिल गरेको प्रगतिको श्रेय किसानकै हातमा रहेको बताए। उनले वेथानचोक, खानीखोला र महाकाल गाउँपालिका लगायत तीनवटा स्थानीय तहबाट दूध सङ्कलन भइरहेको र अब डेरी विस्तारका नयाँ चरणतर्फ अघि बढिरहेको जानकारी दिए।
डेरीका अध्यक्ष माधव दाहालले भौगोलिक विकटता, वर्षायाममा पहिरो र यातायात अवरुद्धजस्ता चुनौतीबिच पनि कम्पनीले दूध संकलन र उत्पादन विस्तारमा निरन्तर काम गर्दै आएको बताए। दाहालका अनुसार कम्पनी २०७९ सालमा स्थापना भएको हो र स्थापना वर्षमा दैनिक ७५० लिटरबाट सुरू भएको दूध सङ्कलन हाल दैनिक ८ हजार लिटर पुगेको छ। कुल ४२ वटा सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ भने आवश्यक स्थानहरूमा नयाँ भ्याट, चिलर र जेनरेटर जडान गरिएका छन्।

कम्पनीले विगत आर्थिक वर्षमा रु २,५९,९५५,०४४ बराबरको विकी गर्दै आयकर तथा भ्याटका रूपमा रु. २१,५०,००० राजस्व भुत्तान गरि जिम्मेवार व्यवसायीको कर्तव्य समेत निर्वाह गरेको छ। साथै आर्थिक वर्ष २०८०/८१ मा पशु मृत्यु राहत कोष अन्तर्गत रु.६,५०,००० रकम कृषकहरूलाई भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ भने आर्थिक वर्ष २०८१/८२ मा १७ वटा गाई–भैंसीको मृत्यु भएलगत्तै किसानलाई राहत वितरणका लागि रकम व्यवस्थापन गरिएको दाहालले जानकारी दिए।
कम्पनीले हालसम्म ३८ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। किसानहरूलाई उन्नत जातका घाँसका बिउ वितरण, पशुपालन तथा घाँसखेती तालिम, चिस्यान केन्द्रहरूको सुदृढीकरण, नयाँ स्वचालित काट्ने–स्लाइस गर्ने मेसिन जडान लगायतका प्रविधिगत सुधार मदानी डेरीका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएका थिए।
डेरीले बनेपा, धुलिखेल, पनौती, भक्तपुर तथा काठमाडौँ उपत्यकाका होटल, सुपरमार्केट र आउटलेटहरूमा नियमित आपूर्ति गर्दै बजारमा मजबूत सञ्जाल विकास गरिरहेको छ। उत्पादन प्रणालीको निरीक्षणपछि कम्पनीले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्ष्क्इ घद्दण्ण्ण् प्रमाणपत्र प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै राजधानी डेरीका सञ्चालक रामहरि बजगाईँले मदानी डेरीले किसानलाई समयमा भुक्तानी गर्दै आएको उल्लेख गर्दै अब दैनिक १५ हजार लिटर दूध सङ्कलन गर्ने स्तरमा कम्पनी पुग्नुपर्ने बताए। उनले किसानलाई व्यवसायिक कृषितर्फ लैजान स्थानीय सरकार र डेरी दुवैले भूमिका खेलेको बताए।
बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले डेरीले किसानमैत्री अभ्यास गर्दै आएको उल्लेख गर्दै किसानको आयस्रोत वृद्धि र पशुपालन व्यवसायलाई टिकाउ बनाउन डेरीले महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले मदानी डेरीले किसानको हकहितमा गरेको कामका लागि धन्यवाद व्यक्त गरे। महाकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले डेरी स्थापनाले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानले उत्पादनलाई बजार पाउने वातावरण बनेको बताए।

कृषक रमन बन्जडाले मदानी डेरीलाई हालको अवस्थामा ल्याउन किसानको ठूलो योगदान रहेको बताए। उनका अनुसार गुणस्तरीय उत्पादन र नियमित भुक्तानीका कारण किसानको डेरीप्रतिको विश्वास थप मजबुत बनेको छ।
त्यस्तै बेथानचोक गाउँपालिकाकाे वडा नम्बर १ का वडा अध्षक्ष मधुसुधन तिमिल्सिनाले बजारमा धेरै ठाउँमा किसानले भुक्तानी पाउन समस्या भोगिरहेका बेला मदानी डेरीले किसानमैत्री व्यवस्थापन अपनाएको बताए। डेरीका उत्पादनको गुणस्तर बजारमा प्रशंसित भइरहेको उनको धारणा थियो।

साधारण सभामा आगामी वर्षका लागि तत्कालीन तथा दीर्घकालीन रणनीतिहरू पनि सार्वजनिक गरिएकाे थियाे । कम्पनीले नजिककै किसानलाई न्यून व्याजदरमा गाई–भैंसी खरिदका लागि सहुलियत ऋण, आधुनिक मेसिन जडान, उत्पादन विविधिकरण, बोटल मिल्क उत्पादन, ३–५ लिटर जार दूध प्याकिङ, साइलेज प्रविधि विकास तथा दुध सङ्कलन क्षमता एक वर्षभित्र ४० हजार लिटर पुर्याउने लक्ष्य राखेको छ।
‘किसानको दूध, किसानकै उद्योग’ भन्ने मूल नारालाई अघि बढाउँदै मदानी डेरीले स्थानीय सरकार, किसान, कर्मचारी, ग्राहक तथा शेयरधनीको सहकार्यमा दुग्ध उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएकाे छ । सभामा सहभागी सबै वक्ताहरूले मदानी डेरीको निरन्तर प्रगति र किसानमैत्री नीतिको प्रशंसा गरिएकाे थियाे ।




प्रतिक्रिया दिनुहोस्