नेपालको कुल विदेशी विनिमय सञ्चिती २९ खर्ब ७९ अर्ब रूपैयाँ पुग्यो


काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिती २०८२ असोज मसान्तसम्म २९ खर्ब ७९ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती २६ खर्ब ७७ अर्ब ६८ करोड रूर्पैयाँ बराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असोज मसान्तमा २६ खर्ब ६७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड रूपैयाँ कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

२०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।