निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै


काठमाडाैँ । निर्वाचनमा आयोगमा एक सय २२ ओटा दल दर्ता भएका छन् । 

आयोगले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् ।

उनकाअनुसार  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।  खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरू नेतृत्वको आग्रहमा खारेज उनको भनाइ छ । उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए ।

भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो ।  भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागि हुन पाउने पनि बताए ।  

उनले मतदाता नामावलीमा नाम सङ्कलनकाे कार्य जारी रहेको समेत बताए । उनकाअनुसार मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताए ।

शनिवार साँझसम्मको तथ्याङ्कअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको सङ्ख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको सङ्ख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।