काठमाडाैँकाे देवीनगरमा स्पोर्टस् पार्कको शिलान्यास, खुला व्यायामशाला र खेलमैदान सहित निर्माण हुने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १०, देवीनगर (धोवीखोला करिडोर खण्ड) मा सार्वजनिक जग्गामा स्पोर्टस् पार्क निर्माणका लागि आज शिलान्यास गरिएको छ। यस पार्क निर्माणका लागि पहिले त्यहाँ रहेको व्यक्तिगत र संस्थागत संरचना हटाइएको थियो।

वडा नम्बर १० का अध्यक्ष तथा महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले शिलान्यास समारोहमा पार्क निर्माण केवल पूर्वाधारको काम नभई सामाजिक क्रियाकलाप बढाउने माध्यम पनि हुने उल्लेख गरे।

पार्क निर्माणको लागि ५ रोपनी १० आना २ पैसा ९२,८८० वर्गमिटर० क्षेत्रफलको जमिन चयन गरिएको छ। उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले आयोजना गरेको यस कामका लागि बोलपत्र आव्हान गर्दा १२ वटा कम्पनीले आवेदन दिएका थिए। यसमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ।

पार्क निर्माणको अनुमानित लागत भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ भने कार्यादेश रकम (भ्याट र पीएसबाहेक) १ करोड ८८ लाख ९१ हजार रुपैयाँ तोकिएको छ।

निर्माण पक्षलाई कार्तिक १८ गते कार्यादेश दिइएको छ र पार्क निर्माणको अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ। पार्कमा खुला व्यायामशाला, १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट र ९२८.५३ वर्गमिटरको फुटसल मैदान निर्माण गरिनेछ।

पार्कभित्र महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन गर्ने कक्ष हुनेछ। ३११.८९ वर्गमिटर क्षेत्रफलमा घाँस रोपेर हरियाली बनाइनेछ। पार्कमा विभिन्न जातका १६३ वटा विरुवा र ३०० वटा मौसमी फूल रोपिनेछन्। साथै सुरक्षा सुनिश्चित गर्न वरिपरी पर्खाल पनि बनाइनेछ।

यो पार्क निर्माण भएपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका क्षेत्रका स्थानीयबासीलाई खुला व्यायाम, ज्येष्ठ नागरिकको टहल, बालबालिका र युवाहरूका लागि खेलकुदको सुविधा उपलब्ध हुनेछ।

महानगर प्रहरी बलले यस स्थानमा रहेका संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गराएको थियो। त्यतिबेला पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन मद्दत बताइन्।