सहिद परिवारका बालबालिकाका लागि गोल्याण ग्रुपको ‘किड्स प्ले–डेट’


काठमाडौँ । विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाका लागि बिहीबार ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ ।

धुम्बाराहीस्थित ऊप्स नेपाल फनपार्कमा भएको कार्यक्रममा सहिद परिवारका बालबालिका तथा उनका अभिभावकको सहभागिता रहेको थियो ।

यसअघि गोल्याण ग्रुपले असोज २४ गते सहिद परिवारका बालबालिकालाई लक्षित गर्दै शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनाअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्न अभिभावकसँग समझदारी भइसकेको ग्रुपले जनाएको छ ।

बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा समावेश काठमाडौंका सहिद परिवारका बालबालिका सहभागी बनेका थिए । उनीहरूले फनपार्कमा उपलब्ध विभिन्न मनोरञ्जनात्मक तथा बौद्धिक खेलहरूमा रमाइलो गरेका थिए ।
कार्यक्रमका क्रममा गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच आपसी परिचय र सम्बन्ध सुदृढ गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

“हाम्रो नयाँ परिवार साझा प्रतिवद्धता र उद्देश्यले एकताबद्ध भएको परिवार हो, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, कदर र संरक्षण गरिन्छ,” उनले भने । उनका अनुसार बालबालिकाको स्वतन्त्रता, अवसर र खुसी सुनिश्चित गर्न सकेमात्र देशले समृद्धिको लक्ष्य हासिल गर्न सक्छ ।

त्यसैगरी, गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको सन्दर्भ पारेर बालबालिकाको अधिकार, सम्मान र संरक्षणका लागि कार्यक्रम गरिएको बताइन् ।

“बालबालिकाको खुसीमा उनीहरूको विकासका सबै आयाम जोडिएका हुन्छन्, समाजको समृद्धिको आधार पनि यही हो,” उनले भनिन्, “आजको किड्स प्ले–डेट यही उद्देश्य लिएर आयोजना गरिएको हो ।”

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्म शैक्षिक वृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको र दोस्रो चरणमा विद्यालय, अभिभावक तथा गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया अघि बढेको ग्रुपले जनाएको छ ।