काठमाडाैँ । नेपाली कांग्रेसले अन्तरिम सरकारले घोषणा गरेको आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय समितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको सहज र न्यायपूर्ण समाधान निर्वाचन नै भएको टिप्पणी गरे। उनका अनुसार अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघटनको विषय राजनीतिक मात्र नभई संवैधानिक बहसको समेत विषय भएकाले यसको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट हुने विश्वास पार्टीले राखेको छ।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई वर्तमान राजनीतिक अवस्थाको उचित निकास ठहर गर्दै नेपाली कांग्रेसले निर्वाचनमा सहभागिता जनाउने घोषणा गरेको छ। प्रवक्ता महतका अनुसार निर्वाचनमार्फत संविधानको रक्षा गर्नुका साथै जेन–जी आन्दोलनले उठाएको परिवर्तनका आवाजलाई संस्थागत रूपमा अघि बढाउन सकिने पार्टीको विश्वास छ।
कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। यद्यपि उनले मुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारको भूमिकामा प्रश्न उठाउँदै अहिलेको अवस्थालाई अनुकूल नभएको टिप्पणी गरे। हजारौँ कैदीबन्दी जेल बाहिर रहनु, आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नआउनु, राजनीतिक दलका कार्यक्रममा अवरोध हुनुजस्ता घटनाले सुरक्षा तथा निर्वाचन वातावरणमा असहजता देखिएको कांग्रेसको मूल्यांकन छ।
जेन–जी आन्दोलनका क्रममा मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार सुनिश्चित गर्न, भदौ २४ गतेका आगजनी, लुटपाट तथा आक्रमणमा संलग्नहरूलाई कानुनी कारबाही गर्न तथा क्षति पुगेका व्यवसायलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीमैत्री वातावरण निर्माण गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। साथै पार्टीले सबै पक्षलाई संयमित र जिम्मेवार भएर राजनीतिक क्रियाकलाप सञ्चालन गर्न आग्रह पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस्