काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचन समयमै सम्पन्न नभए संसद पुनःस्थापना अपरिहार्य हुने बताएका छन्।
शनिबार काठमाडौंमा जेनजी आन्दोलनसम्बन्धी आयोजित छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका हुन्।
गुरुङका अनुसार संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिन निर्वाचन नै प्रमुख मार्ग भए पनि, निर्वाचन सम्भव नभए संसद पुनःस्थापनाको बाटो अख्तियार गर्नु पर्ने आवश्यकता बन्न सक्नेछ। उनले संविधान संशोधनका एजेन्डाहरू पनि त्यही प्रक्रियाबाट अघि बढाउन सकिने बताए।
उनले भने, “अहिलेको अवस्था संक्रमणकालीन हो। यस्तो अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन। निर्वाचन सम्पन्न गर्ने मुख्य सम्भावना हो, यदि त्यो सम्भव भएन भने संसद पुनःस्थापना गर्नुबाहेक अर्को विकल्प हुँदैन। आवश्यकता परे त्यहीँबाट संविधान संशोधन पनि गर्न सकिन्छ। राजनीतिको नियमित कोर्समा फर्कनैपर्छ।”
गुरुङले पछिल्लो समय एक–अर्कामाथि गालीगलौज र बदनाम गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यसले राजनीतिक वातावरण बिग्रँदै गएको टिप्पणी गरे। उनले उत्तेजनापूर्ण गतिविधिभन्दा शान्तिपूर्ण राजनीतिक मार्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस्