काठमाडाैँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले हालको सरकार जेन–जी आन्दोलनको परिणाम भए पनि आन्दोलनलाई अमेरिकाले प्रभावित पारेको आरोप लगाएका हुन्।
उनका अनुसार अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार गठनको प्रक्रियामा सक्रिय रहेका छन्। एनजिओ तथा आइएनजीओसँग जोडिएका व्यक्तिहरू सरकारमा पुगेका उल्लेख गर्दै उहाँले पछिल्ला गतिविधिहरुले उनीहरूको चरित्र स्पष्ट रूपमा उजागर भएको टिप्पणी गरे ।
उनले भने, “यो सरकार मूलतः जेन–जी आन्दोलनकै परिणाम हो। तर जेन–जी आन्दोलन नै अमेरिकाद्वारा सञ्चालित छ। यसमा संलग्न धेरै व्यक्ति अमेरिकाप्रति नजिक भएका, बार्बरा फाउन्डेशनसँग सम्बन्धित तथा एनजिओ–आइएनजीओसँग जोडिएका छन्। यसले उनीहरूको वास्तविक चरित्र खुला गरिदिएको छ। जेन–जी आन्दोलनलाई बीचमै गलत तत्वहरूले हाइज्याक गरेका छन्। आन्दोलनभित्रै गलत व्यक्तिहरू प्रयोग भएर यसको मूल स्वरूप नै हराएको छ।”
नेता सिंहले कुनै पनि देशको राजनीतिक दिशानिर्धारणमा मुख्य भूमिका भने राजनीतिक दलहरूले नै खेल्ने स्पष्ट धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्