काठमाडौं । नेपालमा आधुनिक छपाईको इतिहास मानिने ‘गिद्धे प्रेस’ अन्तत ४६ वर्षपछि पुन: गोरखापत्र संस्थानमा फर्किएको छ । यो प्रेस त्यतिकै राष्ट्रिय संग्राहलयबाट फर्किएको भने होइन, गोरखापत्रका नायव कार्यकारी सम्पादक रामप्रसाद हुमागाईँको पहलमा फर्किएको छ ।
वि. सं. २०३६ सालको विद्यार्थी आन्दोलनका समयमा आन्दोलनकारीहरूले जलाएर नष्ट गरिदेलान् भन्ने डरमा गोरखापत्रका तत्कालीन व्यवस्थापनले जङ्बहादुरद्वारा भित्र्याइएको ‘गिद्धे प्रेस’ र चन्द्रशमसेरद्वारा भित्र्याइएको त्योभन्दा अलिक आधुनिक सिलिन्ड्रकल प्रेस संरक्षणका लागि राष्ट्रिय संग्राहलयलाई जिम्मा लगाइएको थियो ।
‘गिद्धे प्रेस’को इतिहास
सन् १८५० मा तत्कालीन इंग्ल्याण्ड (बेलायत) को भ्रमणमा गएका जङ्गबहादुर कुँवर राणाले त्यहाँ बस्दा बेलायती समाचारपत्रहरू देखेका थिए । खासगरि उनी पुगेपछि उनको चित्रसहित छापिएका समाचारपत्रहरूबाट प्रभावित भएका जङ्गबहादुरले त्यसको छपाइ प्रविधिबारे बुझे ।
सन् १८५० जुन ७ तारिखका दिन योर्कशायरस्थित विलियम डसन एण्ड सन्स नामक छापाखाना निर्माता कम्पनीको भ्रमणका क्रममा जङ्गबहादुरले यसका प्रविधिका बारेमा बुझेपछि कोलम्बियन छापाखानाबाट एक थान प्रेसको अर्डर दिए ।
डसन कम्पनीले १८५० को दशकमा कोलम्बियन प्रेसका विभिन्न प्रकारहरू बनाउँथ्यो। त्यसमध्ये शिरानमा अमेरिकी अमेरिकी बाज (बाल्ड ईगल)को मूर्तिजस्तो प्रतीक थियो । करिब ६ देखि ७०० किलोग्रामको छापा मेसिनको लिभर संयन्त्रको सन्तुलन मिलाउन प्रयोग हुने ‘काउन्टरवेट’का रुपमा राखिएको अमेरिकी बाज चरालाई नेपालीहरूले गिद्धका रुपमा चिनेर त्यसलाई ‘गिद्धे प्रेस’ भनेका हुन् ।
जङ्गबहादुर कालीन र त्यसपछि लेखिएका विभिन्न पुस्तकमा उनले बेलायतमा तेल पेल्ने मेसिन किनेको उल्लेख भए पनि त्यो योर्कशायरमा किनिएको कोलम्बियन प्रेस थियो । तत्कालीन समयमा यसको मूल्य १०० देखि १२५ पाउण्ड रहेको देखिन्छ ।
निकै ठुलो तौल भएको छापाखाना जङ्गबहादुरले आफू फर्कँदा संगै भने ल्याएनन । इंग्ल्याण्डबाट फ्रान्सको भ्रमणमा लागेका जङबहादुरको टोलीले आफूले किनेका गाई, कुकर, भेडा, लत्ताकपडा र छापा मेसिन इंग्ल्याण्ड सरकारले छुट्टै पानीजहाजमा भारतस्थित ब्रिटिस इन्डिया कम्पनीमार्फत प्राप्त हुने गरि पठाइ दियो ।
कोलकाता बन्दरगाह हुँदै इंग्ल्याण्ड भ्रमणमा गएका जङ्गबहादुर र उनको टोली बम्बई बन्दरगाह हुँदै नेपाल फर्केका थियो । जङ्बहादुर बनारसमा रहँदा नै उनका कतिपय सामान बम्बई बन्दरगाह हुँदै नेपाल आई पुग्यो भने छापा मेसिनसहितका सामान दुई वर्षपछि मात्र नेपाल आइपुग्यो ।
विसं १९०८ मा नेपाल आइपुगेको छापा मेसिनले तत्कालै भने छाप्ने काम गर्न सकेन । ‘गिद्धे छापाखाना’ का नामले चिनिने यो प्रेस थापाथली दरबारभित्रै राखिएको थियो। विसं १९१० मा १४०० पानाको नेपालको पहिलो वैधानिक कानुन मुलुकी ऐन हातैले लेखेर तयार पारियो ।
त्यो कानुन छाप्नका लागि नेपाली अक्षर देवनागरी लिपि प्रेसमा थिएन । त्यसपछि कोलकातामा नागरी लिपिका अक्षरहरू तयार पारिएपछि विसं १९२७ देखि यसमा विभिन्न सरकारी कागजपत्रहरू छापिन थाल्यो ।
पछि चन्द्रशमसेरले पनि बेलायत भ्रमणमा जाँदा त्योभन्दा अलिक आधुनिक सिलिन्ड्रिकल प्रेस अर्डर गरे । दुवै छापा मेसिनले वर्षौँसम्म गोरखापत्र दैनिक र अन्य सरकारी कागजातहरू छाप्ने काम गरे ।

“यो प्रेस निकै गह्रौँ र पुरानो प्रविधिको भएकाले राष्ट्रिय संग्राहलयमा जडान गर्न नसकी एउटा टहरामा अव्यवस्थित ढाँचाले राखिएको थियो । गोरखापत्रको इतिहास भएकाले यहीँ फर्काउनु पर्छ भनेर निकै लामो कसरतपछि फिर्ता ल्याइएको हो,” वरिष्ठ पत्रकार हुमागाईँले भने ।
हुमागाईँकै पहलमा गोरखापत्रमा पुरानो प्रविधिका क्यामेरा र फोटो प्रिन्टिङको अभिलेखालय बनिसकेको छ । उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसका केही विद्यार्थीहरूले ‘गिद्धे प्रेस’लाई पुनर्स्थापित गर्न सहयोग गर्ने वाचा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्