प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज होः बाबुराम भट्टराई


काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गरे । प्रलेपालाई जेनजी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उनको जिकिर थियो । पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताए ।

“यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो । र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेनजी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरु यसले पूरा गर्नसक्छ कि सक्दैन ?,”उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताए ।