काठमाडाैँ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिएका हुन् ।
उनकाअनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । मनसुन अवधिमा देशभित्र पर्याप्त उत्पादन हुने भएकाले आयात अत्यन्त न्युन रहेको उनले जानकारी दिए ।
उनकाअनुसार हालसम्म नेपालले जम्मा २.८ गिगावाट–आवर मात्र विद्युत आयात गरिएको छ । पहिलो त्रैमासिकमा ८६ मेगावाट विद्युत उत्पादन थपिएको सचिव चटौतले जानकारी दिए ।
उनकाअनुसार ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर ट्रान्समिशन लाइन तथा ३३ केभीका १३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको छ । मन्त्रालयले उर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बजेटमध्ये १५ दशमलब १६ प्रतिशत खर्च गरेको छ । उर्जा क्षेत्रमा भएको ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँ वित्तीय लगानीमध्ये हालसम्म ६ दशमलव ५४ प्रतिशत प्रगति देखिएको उर्जासचिव चटौतले जानकारी दिए ।
उनले उर्जातर्फ बजेट रोकावटको कुनै समस्या नरहेको जानकारी दिए । बजेट रोकिएर उर्जा क्षेत्रका परियोजना प्रभावित नभएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्