उद्योगीहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : वाणिज्य सचिव घिमिरे


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताएका छन् ।

उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र अब पनि पुरानै तवरले चलेर नहुने बताए । सचिव घिमिरेले कर्मचारीहरुले व्यवसायीहरुलाई अधिकतम सहजिकरण गर्नुपर्नेमा अझै त्यसो हुन नसकेको बताए ।

सचिव घिमिरेले भने, ‘हामीलाई के लाग्नसक्छ भने हामीले जे गरिरहेका छौं, ठिक गरिरहेका छौं । एउटै काम रिपिट हुने भएकाले हामी कर्मचारीहरु यथास्थीतिवादी हुन्छौं । व्यवसायीहरुलाई सहजिकरण गर्ने सन्दर्भमा हाम्रो माइण्ड एउटा बक्स भन्दा बाहिर आउन सकिरहेको हुँदैन । त्यो बक्सभन्दा बाहिर जाने प्रयास गर्नुपर्छ । सानो कुराले पनि असर गर्छ । सेवाग्राहीलाई एउटा कुर्सी राखिदिएर उहाँहरु बस्न पाउनुभयो भने पनि त्यसले पोजेटिभ काम गर्छ । ठुलो कुरा गर्न पदैन । राम्रो सँग बोलिदिने हो भने पनि असर गर्छ । कन्फुजन भएर बसेकाहरुलाई गिज्जाउने होइन, उहाँलाई सुविधा दिनुपर्छ ।’

निजी क्षेत्रले पनि उद्यमशीलताको हिसावले सोच्न जरुरी रहेको उल्लेख गर्दै उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिक नीतिलाई अब बदल्ने बेला आएको बताए ।

उनकाअनुसार विश्व परिवेश दिनदिनै परिवर्तन भएकाले त्यसलाई सम्बोधन गरेर नयाँ नीति ल्याउनुपर्ने आवश्यकता छ र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ ।

सचिव राउतले भने, ‘अलि पुरानो २०६७ सालको औद्योगिक नीतिलाई परिमार्जनको हिसाबले हामीले काम गरिरहेका छौं । गत वर्ष सातै प्रदेशमा काम गरेका थियौँ । यो वर्ष अन्तिम रुप दिइनेछ ।’

उद्योग विकास रणनीति ल्याएर उद्योग क्षेत्रको विस्तारका लागि काम अघि बढाइने उनको भनाइ छ ।