ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


काठमाडौँ ।नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कर्पोरेसन (जिआईजेड) सँगको सहकार्यमा आरईईईपी–ग्रीन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भएको जनाइएको छ । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, बिराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्ज लगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । उक्त कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरि २०० भन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो ।

नेपाल बैंकर्स संघ दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिवद्ध रहेको जनाएको छ ।