जेनजी आन्दोलनका सहिदका ९ बालबालिकासँग गोल्याण ग्रुपको त्रिपक्षीय सम्झौता, कक्षा १२ सम्म पूरा शैक्षिक खर्च व्यहोर्ने


काठमाडौँ । जेनजी आन्दोलनका सहिदका बालबालिकालाई शैक्षिक समर्थन प्रदान गर्ने उद्देश्यले गोल्याण ग्रुप, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता गरिएको छ।

गत असोज २४ मा गोल्याण ग्रुपले घोषणा गरेको छात्रवृत्ति कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा पहिलो चरणका ९ बालबालिकाका लागि सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार गोल्याण ग्रुपले बालबालिकाको कक्षा १२ सम्मको शिक्षाका लागि मासिक ४० हजार रुपैयाँ बराबर वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्नेछ।

उक्त रकमअन्तर्गत मासिक शुल्क, भोजन तथा खाजा, छात्रावास, यातायात, विद्यालयका अतिरिक्त क्रियाकलाप शुल्क, वार्षिक भर्ना, प्रशासनिक शुल्क, पुस्तक–स्टेशनरी, पोशाकलगायत विद्यालयले जारी गर्ने सबै बिल–बिजक समावेश हुने व्यवस्था गरिएको छ। छात्रवृत्ति रकम विद्यालयलाई नै सोझै भुक्तानी गरिनेछ।

सम्झौता अनुसार गोल्याण ग्रुपले छात्रवृत्ति सीमाभित्र रहेर विद्यार्थीको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा लाग्ने खर्च पनि व्यहोर्नेछ। विद्यालयमा उपलब्ध नभएको क्रियाकलाप विद्यार्थीले अन्य संस्थाबाट सिक्न सक्ने र सो वापतको रकम पनि ग्रुपले भुक्तानी गर्ने व्यवस्था छ।

पहिलो चरणमा सहिद अनिष पराजुली, अभिषेक चौलागाईं, बुद्धिबहादुर तामाङ, सौरन किशोर श्रेष्ठ, सन्तोष विश्वकर्मा र साजनकुमार राईका ९ बालबालिका विभिन्न विद्यालयमा भर्ना गरिएका छन्। सम्झौतापत्रमा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा बालबालिकाका संरक्षकले हस्ताक्षर गरेका छन्।

गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाको शिक्षाको जिम्मेवारी लिन पाउनु भावनात्मक र नैतिक कर्तव्य भएको उल्लेख गर्दै, यो अभियानले बच्चाहरूको प्रतिभा तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। “व्यवसायिक उद्देश्यका कारण होइन, मन–मनबाट गरिएको प्रतिबद्धता हो,” उनले भने।

कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रेका अनुसार गोल्याण ग्रुपले २४ परिवारका ३२ बालबालिकालाई शैक्षिक वृत्ति उपलब्ध गराउने योजना बनाएको छ। मंगलबार ९ बालबालिकाको सम्झौता सकिएको र बाँकीका लागि तयारी भइरहेको उनले बताइन्।

समूहले यसका लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। साथै, छात्रवृत्तिबाहिर रहेका सहिद परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम पनि अघि बढाइने जानकारी गराइयो।

सम्झौता कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूले गोल्याण ग्रुपको सामाजिक भावना र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै, बालबालिकाको उज्ज्वल भविष्यलाई प्राथमिकता राखेर कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। नर्थपोल एकेडेमी, त्रि–ज्योति सेकेन्डरी स्कुल तथा क्याम्ब्रिज पब्लिक हाईस्कुलका प्रतिनिधिहरूले समूहले समाजप्रति देखाएको दायित्व प्रशंसनीय रहेको बताए।

सम्झौतामा गोल्याण ग्रुप, विद्यालय, संरक्षक तथा विद्यार्थीका दायित्व स्पष्ट रूपमा तोकिएका छन्। विद्यालयले कुनै भेदभाव नगरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेछ।संरक्षकले पठनपाठनका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्नेछ भने विद्यार्थीले नियमित हाजिरी, परीक्षा उत्तीर्ण र अध्ययनमा निरन्तर सुधार गर्नुपर्ने उल्लेख छ।