काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूसमक्ष ६० दिनभित्र दर्ता अभिलेखीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
सहकारी ऐन, २०७४ को दफा २०(क) तथा नव जारी ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम प्राधिकरणले अभिलेखीकरण प्रणाली लागू गर्दै दर्ता प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरेको हो।
मापदण्डअनुसार विकसित गरिएको अभिलेखीकरण सफ्टवेयर मंसिर १० गते सरोकारवालाको उपस्थितिमा आयोजित समारोहमार्फत सार्वजनिक गरिएको थियो। अब सबै बचत तथा ऋण सहकारीले प्राधिकरणको विद्युतीय प्रणालीमा आवश्यक विवरण ऑनलाइन प्रविष्ट गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ‘सहकारी दर्ता पोर्टल’ मार्फत अनुसूची–१ अनुसारका विवरण भर्न सकिने व्यवस्था गरेको छ। पोर्टलमा रहेका ‘Help’ बटन वा वेभसाइटमा राखिएको युजर म्यानुअलमार्फत प्रक्रिया बुझ्न सकिनेछ।
दर्ता दस्तुर मापदण्डको अनुसूची–२ अनुसार राष्ट्रिय वाणिज्य बैंक, पुल्चोक शाखामा रहेको KA-2.10.2: Rastriya Sahakari Niyaman Pradhikaran Amdani Khata (खाता नं. ११४०१००१०२१००२०१) मा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ। भौचर प्रतिलिपि पनि सोही प्रणालीमा अपलोड गर्नुपर्नेछ।
निर्धारित मिति (मंसिर १० गते) बाट ६० दिनभित्र विवरण पेश गरेका सहकारीमध्ये रुजु प्रक्रिया पूरा भएका संस्थालाई अनुसूची–३ अनुसारको ‘सञ्चालन इजाजतपत्र’ अनलाइनमार्फत प्रदान गरिनेछ। सहकारी संस्थाले सो इजाजतपत्र स्वयं डाउनलोड गर्न सक्नेछन्।
तर संघ, प्रदेश वा स्थानीय तहले समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रियामा रहेका सहकारी संस्थालाई अभिलेखीकरण प्रक्रियामा समावेश नगरिने प्राधिकरणले स्पष्ट गरेको छ। दर्ता अभिलेखीकरण नगरी बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई भने प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।



प्रतिक्रिया दिनुहोस्