काठमाडौँ । गत कार्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षाले देशभरि तरकारी खेतीमा ठूलो क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको प्रतिवेदन’ले देखाएकाे छ ।
प्रतिवेदन अनुसार वर्षाले कुल ५८६ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेती प्रभावित पारेको छ। प्रभावित क्षेत्रबाट करिब ६ हजार ८३६ टन तरकारी उत्पादन घटेको र २२ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
कोशी प्रदेशको सुनसरी जिल्लामा करिब २०० हेक्टर तरकारीबाली प्रभावित भएको छ। यसबाट करिब २ हजार मेट्रिक टन उत्पादन घटेको र ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको मन्त्रालयले जनाएको छ।
मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा करिब ३८६ हेक्टर तरकारीबाली प्रभावित भएको छ। यसबाट करिब ४ हजार ८३६ मेट्रिक टन उत्पादन घटेको र अनुमानित १८ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। यता बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने यस बेमौसमी वर्षाले तरकारीबालीमा कुनै क्षति नपुगेकाे प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्