पराल ढुवानी अवरोधविरुद्ध च्याउ किसानकाे विरोध, देशव्यापी आन्दोलन गर्ने चेतावनी


काठमाडाैँ । च्याउ उत्पादक किसान संघ नेपालले मधेश प्रदेशबाट पराल ढुवानीमा भइरहेको अवरोधविरुद्ध विरोध जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै किसानहरूले लामो समयदेखि पराल अभावका कारण च्याउ खेती र पशुपालनमा समस्या भोगिरहेका जनाएकाे छ ।

विज्ञप्ति अनुसार १० टनभन्दा बढी क्षमता भएका मालबाहक सवारी साधनमा करिब चार टन मात्र पराल बोके पनि ट्राफिक प्रहरी तथा अन्य प्रहरीले अनावश्यक रोकजाँच गरी ढुवानीमा बाधा पुर्याइरहेका छन्। यसका कारण उत्पादन लागत वृद्धि भएको र किसानहरू उपभोक्तालाई पर्याप्त च्याउ तथा दूध उपलब्ध गराउन असमर्थ रहेकाे संघका अध्यक्ष सन्तोष कार्कीले बताए ।

संघले पथलैयामा आयोजना गरिएको शान्तिपूर्ण धरना कार्यक्रममा प्रहरीले गरेको दमन र धरपकटको निन्दा गर्दै, स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने अभियानमा संलग्न किसानमाथि भइरहेको राज्यद्वारा दमनको विरोधमा देशव्यापी आन्दोलनको आव्हान गरेको छ।