काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध नाङलो बेकरी प्रा. लिले उत्पादन गरेकाे क्राेसिएन फिर्ता गर्न आदेश दिएको छ।
विभागको बजार अनुगमन र प्रयोगशालामा गरिएको परीक्षणमा उक्त खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अधिकतम २ प्रतिशतभन्दा बढी पाइएको छ। यस कारणले क्राेसिएन न्यूनस्तरको खाद्य पदार्थको श्रेणीमा पर्न गएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) अनुसार विभागले सो ब्याचको सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न निर्देशन दिएको छ। फिर्ता आदेशमा ब्याच नं. ०१, निर्माण मिति ०३/१२/२०२५ र समाप्ति मिति १०/१२/२०२५ रहेका क्राेसिएन समावेश छन्।
विभागले सो ब्याचका खाद्य पदार्थ उपभाेक्तालाई नखान र फिर्ता प्रक्रिया पालनामा सहयोग गर्न अनुरोध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस्