काठमाडौैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्।
सञ्चारिका समूह नेपालले सोमबार काठमाडाैँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहेको बताएका हुन् ।
मन्त्री खरेलले भने,“म पत्रकार महिला साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाँइहरूको दोहोरो जिम्मेवारी छ, ‘पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ । त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरू र एडभोकेसीहरू कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो ।”
सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे । “तपाँई परिवारमाझ हुनुहुन्छ, आफु सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाँइको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाँईलाई असुरक्षित महशुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरू गर्नु अपरिहार्य छ । किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ ।”
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसावले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरुमा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गरे।
उनले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाईल सरकारले अगाडि बढाइसकेको जानकारी दिए ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याए। उनले लैंगिक हिंस मानवअधिकारको बाधक भएको बताए ।
सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चार माध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतले कार्यस्थलको हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस्