काठमाडाैँ । आगामी २०८२ फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले व्यापक तथा कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्ने नीति सार्वजनिक गरेको छ।
सरकारले तयार पारेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सशस्त्र प्रहरीले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आफ्नो सम्पूर्ण स्रोत–साधन प्रभावकारी रूपमा परिचालन गर्ने तयारी पूरा गरेको छ।
सशस्त्र प्रहरीले देशभरका अतिसंवेदनशील, संवेदनशील तथा सामान्य सबै प्रकारका निर्वाचन क्षेत्रहरूमा तोकिएको जिम्मेवारीअनुसार बल परिचालन गर्ने जनाएको छ। निर्वाचन सुरक्षा संयन्त्रमा प्रहरी दोस्रो तहको सुरक्षा घेरामा रहनेछ र अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वयसहित परिचालन गरिनेछ।
निर्वाचनमा खटिने सम्पूर्ण सशस्त्र प्रहरी जनशक्तिलाई विशेष निर्वाचन सुरक्षा तालिम दिने तयारी समेत पूरा भएको छ। यसका लागि प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ भने हरेक बाहिनी मुख्यालय तथा जिल्लास्थित गण–गुल्ममा छुट्टाछुट्टै निर्वाचन सेल राखेर सुपरिवेक्षण, समन्वय र सहजीकरणलाई व्यवस्थित बनाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
निर्वाचनका दिन सुरक्षा संवेदनशीलता हेरी मोबाइल, स्ट्राइकिङ टोली, क्यूआरटी/रिजर्भ, सुरक्षा बेस, कमाण्ड पोष्ट, जेइओसी तथा कार्यालय सुरक्षा जस्ता विभिन्न जिम्मेवारीमा बल तैनाथ गरिनेछ। सडक सञ्जाल कमजोर रहेका क्षेत्रहरूमा आवश्यक परे वैकल्पिक यातायातका माध्यममार्फत पनि जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइने जनाइएकाे छ।
निर्वाचन विरोधी गतिविधि रोकथाम तथा आपराधिक घटना नियन्त्रणका लागि सूचना आदान–प्रदान र सहकार्यलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। विशेषगरी सीमा क्षेत्रमा समकक्षी सुरक्षा निकायसँगको सहकार्यमार्फत कडाइका साथ निगरानी बढाइनेछ।
निर्वाचन क्षेत्र सुरक्षा बेस एक महिना अगाडि नै स्थापनासहित स्ट्राइकिङ र मोबाइल टोलीलाई १५ दिन अघि देखि सबै बन्दोबस्ती र सवारीसाधनसहित परिचालन गर्ने तयारी पनि गरिएको छ।



प्रतिक्रिया दिनुहोस्