जेनजी युवाहरूको चेतावनीः विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ


काठमाडाैँ । स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेनजी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । 

शुक्रवार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरुको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् ।

जेनजी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपालीहरु विदेशमा रहेका र उनीहरुले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग आफूहरूको रहेको बताए । आम नागरिकको लडाईं हरेक नागरिकको मताधिकार सुनिश्चित हुनुपर्ने बताए ।

जेनजी अभियन्ता प्रकृति ढकालले नेपाली अट्ने नेपाल ठूलो रहेको बताउँदै मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन आग्रह गरेको बताइन् । श्रोत साधनको समस्या देखाएर सधैँ पन्छिन नमिल्ने उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न नसके सडकमा आन्दोलन गर्ने चेतावनी दिइन्।

संसारमा १ सय १५ वटा भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने बताइन्। उनीहरूले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपाली नागरिकको मताधिकारको विषयलाई लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन्  ।