सिरहाकी जसोधा कुमारीविरुद्ध घुस दिने आरोपमा विशेष अदालतमा आरोपपत्र दायर


काठमाडाैँ । जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नम्बर ६ बस्ने जसोधा कुमारीविरुद्ध घुस/रिसवत दिएको आरोपमा प्रतिकूल बकपत्र गर्ने सम्बन्धी मुद्दा दायर गरिएको छ।

प्राप्त जानकारीअनुसार, कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित संजिव साहको घरदेखि ब्रम्हदेव सिंहको घरसम्मको पक्की नाला निर्माण सम्पन्न भएपछि भुक्तानी दिने उद्देश्यका लागि जसोधा कुमारीले एक लाख नगद घुस/रिसवत नगर प्रमुख राम पुकार साह तेलीलाई दिएको आरोप लगाइएको छ। यस विषयमा जसोधा कुमारी विशेष अदालतमा सरकारी साक्षीको रूपमा पेश भएकी थिइन्।

तर, आयोगको अनुसन्धानको क्रममा जसोधा कुमारीको बयान अदालतमा दिएको बकपत्रसँग भिन्न रहेको पाइएको छ। अनुसन्धान अनुसार, जसोधा कुमारीले निर्माण कार्य सम्पन्न भएपछि नगद रकम प्रदान गरी घुस/रिसवत दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसार कसूरमा पर्ने ठहर गरिएको छ।

यसैबिच, विगो १ लाख कायम गरी जसोधा कुमारीविरुद्ध सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरिएको छ।