धनुषाको शंकर जनता माविमा आइसिटी ल्याब स्थापनामा भ्रष्टाचार, प्रधानाध्यापक विरूद्ध मुद्दा दायर


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका वडा नम्बर २ स्थित श्री शंकर जनता माध्यमिक विद्यालयमा भएको सरकारी सम्पत्ति दुरुपयोगका घटनाबारे आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतले आ.व. २०७६/०७७ देखि २०७९/०८० सम्म आइसिटी ल्याब र डिजिटल लाइब्रेरी स्थापना कार्यक्रम अन्तर्गत गुणस्तरहीन कम्प्युटर तथा अन्य सामाग्री खरिद गरी सरकारी रकम रु. ८ लाख ६२ हजार १५२.६५ हिनामिना गरेका हुन्।

उनीहरूले आ.व. २०७६/०७७ मा विदेह नगरपालिकाबाट आइसिटी ल्याब व्यवस्थापनको लागि प्राप्त रु. ६ लाख ५० हजार रकमबाट सामग्री खरिद नगरी भुक्तानी लिएका र नक्कली प्रतिवेदन पेश गरेका थिए। त्यसैगरी, आ.व. २०७८/०७९ र २०७९/०८० का लागि खरिद गरिएका सामाग्रीहरूको अभिलेख विद्यालयमा नभएको आयोगको अनुसन्धानले पुष्टि गरेको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम प्रधानाध्यापक धनिकलाल ठाकुरलाई कैद र जरिवाना सजाय मागदाबी गर्दै रु. ८ लाख ६२ हजार १५२.६५ बिगो असुल गर्न अदालतमा पेश गरेको छ।

तत्कालीन लेखापाल अरुण कुमार कुशियैतको मृत्यु भइसकेकाले, उनको हकमा फौजदारी सजाय मागदाबी सम्भव नभए पनि बिगो रकम उनकी श्रीमती कुमारी सरिता देवी कुशियैतबाट असुल गर्न माग गरिएको छ।