काठमाडाैँ । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व सङ्कलन लक्ष्यभन्दा कम भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।
तर मंसिर २० गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो ।
मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो । मंसिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजश्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । उक्त वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
सो वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।अर्थ मन्त्रालयकाअनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा राजस्व सङ्कलन दबाब देखिएको हो ।
जेनजी आन्दोलनका कारण उद्योग धन्दामा परेको असरले राजश्व सङ्कलनमा समेत असर परिरहेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्