एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।
अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् । प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मंगलवार राति अबेरसम्म पनि सुरु हुन नसकेपछि बुधवार बिहानका लागि धकेलिएको थियो ।

निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ भने भीड व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिष्पर्धा छ ।

दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रिय कमिटीका लागि मतदान गर्दैछन् । केही पदमा निर्विरोध चयन भइसकेको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ । महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ । यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।