३५ दिनको समयावधिमा युरो–३ मापदण्डका ९ सय सवारी आयात, किन भयो कम आयात ?


काठमाडौँ । सरकारले ३५ दिनको समयसिमा राखेर युरो–३ मापदण्डका सवारी साधन आयात खुला गरे पनि मङ्सिर १५ गतेसम्म आयात हुने गाडीहरूको सङ्ख्या अपेक्षाकृत कम मात्र भएको छ ।

यातायात व्यवस्था विभागका इन्जिनियर श्रीकान्त यादवका अनुसार मंसिर १५ गतेसम्म कुल ९ सय सवारीसाधन मात्रै नेपाल भित्रिएका छन् । वन तथा वातावरण मन्त्रालयमा २४ हजार हाराहारी सवारी साधन आयातका लागि आवेदन परेको थियो तर व्यवसायीहरूले ठूला पुँजी आवश्यक पर्ने, एउटै पटक धेरै सवारी आयात गर्न अप्ठ्यारो हुने र प्रतीतपत्र (एलसी) नखोलेका कारण अपेक्षाकृत कम मात्र गाडी भित्र्याएका हुन् ।

यसअघि वन तथा वातावरण मन्त्रालयको प्रस्तावका आधारमा तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाल सवारीसाधन प्रदूषण मापदण्ड २०८२ जारी गर्नुअघि अर्डर गरिएका युरो–३ मापदण्डका सवारी साधन आयात गर्न अनुमति दिएको थियो।

तर, तोकिएको समय सीमाका कारण मात्र थोरै गाडी आयात भएको नाडाका एक सदस्यले जानकारी दिए। उनले भने, “मंसिर १५ सम्मको सरकारले दिएको म्याद वा दुई महिनाको सर्तभित्र आयात प्रक्रिया पूरा गर्नु व्यवसायीका लागि असम्भव थियो।”

सरकारले २०८२ असोज १० गते राजपत्रमा सूचना प्रकाशित गर्दै प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन र आवश्यक पार्टपूर्जा प्रयोग गरेर एसेम्बल वा उत्पादन भएका गाडी मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार आयात गर्न सकिने व्यवस्था गरेको थियो। तर, वास्तविक आयात अपेक्षाकृत कम मात्र भएको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धीत समाचारः