काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मत ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत कार्यका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ विपरीत प्रक्रिया अपनाइएको पाइएको छ।
सो योजनाका लागि Contract ID No. 07/MUN/BAHUDA/PAR/W/080-081 अनुसार बोलपत्र सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि सूचना लुकाई छिपाई गरिएको आयोगको निष्कर्ष छ।
अनुसन्धानका क्रममा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, लेखा हेर्ने सह-लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहबिच आपसी मिलेमतो भएको खुलेको छ। आयोगका अनुसार गैरकानुनी लाभ लिने–दिने मनसायले बोलपत्र सूचना विधिवत रूपमा सार्वजनिक नगरी कागजात अभिलेखमा मात्र राखिएको थियो।
प्रेस काउन्सिल नेपालबाट प्राप्त विवरणअनुसार जन प्रतिबिम्ब दैनिकको २०८० माघ २५ गतेको हार्डकपी तथा पीडीएफ दुवैमा बहुदरमाई नगरपालिकाको सडक मर्मतसम्बन्धी कुनै पनि बोलपत्र सूचना पहिलो पृष्ठमा प्रकाशित भएको नदेखिएको आयोगले जनाएको छ।
यसरी सार्वजनिक वितरणका लागि पत्रिका प्रकाशित नै नगरी झुट्टा बिल र भरपाई तयार गरी जन प्रतिबिम्ब दैनिकलाई ६५ हजार रुपैयाँ भुक्तानी दिइएको तथ्य स्थापित भएको आयोगको दाबी छ।
यस कार्यबाट नगरपालिकाको सम्पत्तिमा हानि नोक्सानी पुगेको ठहर गर्दै आयोगले महमद शेरे मुस्तफा र उपेन्द्र कुमार साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसार कसूर कायम गरी बिगो ६५ हजार रुपैयाँ असुल उपर गर्न, कैद र जरिवाना सजायको मागदाबी गरेको छ।
यस्तै, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहविरुद्ध सोही ऐनको दफा २२ बमोजिम मतियारको कसूरमा मुख्य कसूरदार सरह सजाय र बिगो असुल उपरको माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्