रास्वपा–बालेन एकताले ठूलो असर नपार्ने एमाले नेताहरूको दाबी


काठमाडाैँ । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहबिच भएको एकतालाई खासै अर्थपूर्ण नहुने बताएका छन्।

नेपाल न्युज एजेन्सीसँगको कुराकानीमा एमाले नेताहरूले उक्त राजनीतिक सहमतिले नेपाली राजनीतिमा कुनै ठूलो प्रभाव नपार्ने दाबी गरेका हुन्।

नेकपा एमालेका नेता मानवीर राईले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख साहबीचको राजनीतिक मिलन वा विमिलनले जनस्तरमा खासै महत्व नपाउने बताए।

उनका अनुसार उनीहरूको राजनीति नेपाली जनतामा आधारित नभएकाले वर्तमान राजनीतिक परिवेशमा त्यसले उल्लेख्य असर नपार्ने देखिन्छ। कसैको आशिर्वाद र इसारामा आधारित राजनीति जनताले स्वीकार नगर्ने र त्यसले दीर्घकालीन अर्थ नराख्ने उनको भनाइ छ।

राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन्द्र साह निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहे पनि पछिल्ला गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए।

काठमाडौँ महानगरपालिकाभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको दाबी गर्दै उनले महानगर प्रमुखले ठोस विकास निर्माण अघि बढाउन नसकेको बताए। विकासका नाममा के काम भयो भन्ने प्रश्न उठाउँदै उनले मकै पोल्ने साना व्यवसायीलाई लखेट्ने बाहेक उल्लेखनीय उपलब्धि नदेखिएको टिप्पणी गरे।

उनले सडक बत्तीसमेत व्यवस्थित गर्न नसकेको आरोप लगाउँदै विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गर्नु ‘स्टन्टबाजी’ मात्र भएको बताए। जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र हिंसात्मक घटनामा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोपसमेत उनले लगाए।

यस्ता घटनाले महानगर प्रमुखको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदेखिएको उनको भनाइ छ। ललितपुर महानगरपालिकाले दमकल पठाएर आगो निभाएको उदाहरण दिँदै काठमाडौँ महानगरले कुनै पहल नगरेको आरोप पनि उनले दोहोर्याए।

नेता राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताए। २०६४ सालमा नेकपा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको प्रसंग स्मरण गराउँदै उनले त्यसबाट कुनै उपलब्धि नभएको उल्लेख गरे।

बालेन्द्र साह सांसद नै बन्न नसक्ने सम्भावनासमेत रहेको आशंका व्यक्त गर्दै उनले रास्वपा सभापति लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर निस्किएको पात्र भएको टिप्पणी गरे। यस्तो पृष्ठभूमिमा उनीहरूले जनतामाझ अपेक्षित सफलता हासिल गर्न नसक्ने उनको दाबी छ।

यसैबिच नेकपा एमालेका अर्का नेता लालबाबु पण्डितले भने राजनीतिक पार्टीहरूबीच एकता हुनु सकारात्मक भएको धारणा राखे।

उनका अनुसार नेपालमा राजनीतिक ध्रुवीकरण आवश्यक छ र हाल १५२ भन्दा बढी राजनीतिक पार्टी हुनु अस्थिरताको कारक बनेको छ। देशमा पाँचवटा जति मुख्य पार्टी भए पुग्ने भन्दै सीमित दलबीच प्रतिस्पर्धा भई बहुमतको सरकार बन्न सके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ।

एमाले कुनै पनि राजनीतिक गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै पण्डितले कोही पार्टी मिल्दैमा कसैलाई टाउको दुखाउन आवश्यक नरहेको बताए। कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको उनको भनाइ छ। राजनीतिक स्थायित्व, संविधान र लोकतन्त्रको पक्षमा एमाले दृढ रहेको उनले स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत एकता’ सम्बन्धी सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सहमतिअनुसार निर्वाचनपछि बालेन्द्र साह संसदीय दलको नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहनेछन्। पार्टीको संरचना भने पूर्ण रूपमा रास्वपाकै रहने सहमतिमा उल्लेख छ।