काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर हद नाघेकी अयोग्य व्यक्तिलाई उच्च माध्यमिक तहको शिक्षक पदमा नियुक्ति गरेको अभियोगमा श्री मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्राचार्य बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबुस्थित श्री मनोहर माध्यमिक विद्यालयमा उच्च माध्यमिक तहको अनुदान दरबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानुन विपरीत कल्पना पनेरुलाई नियुक्ति गरिएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा पनेरु नियुक्तिका लागि तोकिएको उमेर हद पार गरिसकेकी अवस्थामा पनि नियोजित रूपमा नियुक्ति प्रक्रिया अघि बढाइएको पुष्टि भएको आयोगले जनाएको छ।
सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधनसहित) अनुसार शिक्षक नियुक्तिका लागि २१ देखि ४० वर्षसम्म उमेर हुनुपर्ने कानुनी व्यवस्था छ। तर पनेरुको जन्ममिति २०३२ साल मंसिर ७ गते रहेको र विज्ञापन प्रकाशित मिति २०७२ साल माघ १४ गतेसम्म उनको उमेर ४० वर्ष २ महिना ७ दिन पुगेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
यस्तो अवस्थामा पनि नियुक्ति लिनु र दिनु दुवै कार्य बदनियतसहित गरिएको आयोगको ठहर छ। अनुसन्धानमा विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा पछि टिपेक्स प्रयोग गरी निर्णय थपघट गरिएको, सरकारी अभिलेखमा रहने कागजात केरमेट र सच्याइएको तथा फरक–फरक लेटरहेड प्रयोग गरी नियुक्तिपत्र तयार गरिएको तथ्य पनि खुलेको छ।
साथै, अस्थायी शिक्षकलाई नियमित अभ्यासबिनै काज सरुवा गरिएको र त्यसमा तत्कालीन सहायक प्राचार्यसमेतको संलग्नता देखिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा गलत लिखत तयार गरी, कानुनी व्यवस्था दुरुपयोग गर्दै कल्पना पनेरुलाई उच्च माध्यमिक तहको शिक्षक पदमा नियुक्ति दिलाएका हुन्।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अनुसारको कसुर ठहर भएकाले दुवै प्रतिवादीविरुद्ध कैद र जरिवानाको सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्