समानुपातिक उम्मेदवारलाई जोडेर फैलाइएका हल्ला असत्य र भ्रामक हुन् : कुलमान घिसिङ


काठमाडाैँ । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका उम्मेदवारहरूलाई लिएर फैलाइएका हल्लाप्रति उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले आपत्ति जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो ध्यानाकर्षण भएको भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असत्य, भ्रामक र नियोजित टिकाटिप्पणी फैलाइएको बताएका छन्।

समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्नो भान्जा नभएको स्पष्ट पार्दै उनले ती व्यक्ति उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति भएको उल्लेख गरेका छन्।

त्यसैगरी, समानुपातिक सूचीमा रहेका र आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको घिसिङले स्पष्ट पारेका छन्। समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको उनको भनाइ छ।

सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध आफू निरन्तर उभिँदै आएको उल्लेख गर्दै घिसिङले त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता आरोप दुःखद भएको प्रतिक्रिया दिएका छन्। उनले राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक हुने बताएका छन्।

साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै उनले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।