ओली बयानका लागि नआए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीको जवाफः भोलिको कुरा भोलि नै हुन्छ


काठमाडाैँ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगको कामको प्रगति बारे जानकारी गराए । उनले प्रधानमन्त्रीले काम कहाँसम्म पुगेको छ भनी जिज्ञासा राखेको र आफूले त्यसको जानकारी गराएको बताए ।

अध्यक्ष कार्कीले आयोगलाई प्रतिवेदन बुझाउन एक महिना समय थप गरिएको र सोही अवधिमा प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा रहेको जानकारी दिए ।उनले काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको र अब ओलीलाई बोलाउने क्रममा रहेको पनि स्पष्ट पारे ।

उनले भने, “काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो। एक महिना समय थप भएको छ। त्यस समयभित्रै प्रतिवेदन बुझाउँछौँ। रमेश लेखकको बयान सकिसक्यो। ओलीजीलाई बोलाउने क्रममा छौँ। आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ। उहाँलाई हामी चिठी काट्दैछौँ।”

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आउन नभए थप निर्णय त्यहीबेलामा गरिने पनि बताए ।