टिकटकले सार्वजनिक गर्‍यो २०२५ का नेपालका टप सर्चः चाडपर्व, सेलिब्रिटी र घुम्ने गन्तव्यमा बढी चासो


काठमाडाैँ । छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालबाट यस वर्ष सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सूची अनुसार नेपाली प्रयोगकर्ताहरू यस वर्ष टिकटकमा चाडपर्व, मनोरञ्जन, घुम्ने गन्तव्य, मनपर्ने कार्यक्रम र दैनिक जीवनसँग सम्बन्धित जानकारी खोज्न बढी सक्रिय रहेका छन्।

टिकटकले नेपालीहरूको दैनिक निर्णय र वास्तविक जीवनसँग सम्बन्धित खोजको लागि ठूलो भूमिका खेलेको सार्वजनिक सूचीले देखाएकाे छ । दसैँ–तिहार र तीज जस्ता चाडपर्वका तयारी सामग्री, खाना पकाउने रेसिपी, घुमफिरका योजना, नयाँ सीप सिक्ने तरिका र मनपर्ने सेलिब्रिटी तथा कार्यक्रमको जानकारी पाउन नेपालीहरूले टिकटकको सहयोग लिएका छन्।

“टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। मानिसहरू केवल भिडियो हेर्ने होइनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका छन्,”टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने, “चाहे खेलकुदको अपडेट होस्, विकेन्ड ट्रिपको योजना होस्, नयाँ कुरा सिक्ने वा किनमेल अघि रिभ्यु हेर्ने, नेपालीहरू दैनिक निर्णयका लागि टिकटक प्रयोग गरिरहेका छन्।”

२०२५ का टप सर्चहरूले नेपालीहरू संस्कृति, समुदाय र दैनिक जीवनसँग कसरी जोडिएका छन् भन्ने झल्को दिएको छ। लोकप्रिय सेलिब्रिटी र टिकटक क्रिएटरहरूदेखि लिएर गीत, टिभी शो, ट्रेन्डिङ क्षण र घुम्ने गन्तव्यसम्मको खोजमा नेपालीहरूको रुचि देखिन्छ। साथै, प्रयोगकर्ताहरू प्रमुख समाचार, प्रविधि सम्बन्धी जानकारी र सार्वजनिक घटनासँग अपडेट रहन टिकटकमा निर्भर छन्।

यस वर्ष नेपालमा टिकटकमा सबैभन्दा बढी खोजिएका सेलिब्रिटीमा प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदन कृष्ण श्रेष्ठ परेका छन्। टिकटक क्रिएटरतर्फ सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा सबैभन्दा धेरै खोजिएका छन्। खेलाडीमा साम्बा, बिमल घर्ती मगर, दिपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी लोकप्रिय छन्।

साथै घुम्ने गन्तव्यमा मुस्तांग, मनांग, नर्थ अन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर र भीमसेनस्थान मन्दिर, टिभी शो वा चलचित्रमा बिग बस, परान, जेरी अन टप, जारी २ र रोडिज सिजन ७, ट्रेन्डिङ क्षणमा तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द र एनपीएल सिजन २ सबैभन्दा बढी खोजिएका छन्।

संगीत र रेसिपीमा पनि नेपाली प्रयोगकर्ताहरूको रुचि देखिन्छ। गीत/साउन्डट्र्याकमा ठुमक ठुमक जानीए माहिए दे नाल, आइसक्रिम खाउंगी काश्मिर जाउंगी, माया गर्नु ल, वाक्क लाग्दो संसार र सारी लायर आएँ भने लोकप्रिय थिए। खाना/रेसिपीमा हत्क्युला फ्रुट, स्टिम चिकेन, सेलरोटी, सिंगडा र पक्कु रेसिपी सबैभन्दा धेरै खोजिएका छन्।

टिकटक छोटो मोबाइल भिडियोका लागि विश्वभर अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरणा दिनु र रमाइलो अनुभव बाँड्नु हो। नेपालमा टिकटकले सिर्जनशील र सशक्त कम्युनिटीलाई निरन्तर सहयोग गर्दै मानिसहरूलाई अर्थपूर्ण र रमाइलो तरिकाले जानकारी लिन सजिलो बनाइरहेको छ।